झापा, पुष ४ । झापाको चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ ।
मेचीनगर १३ स्थित जंगलमा अर्जुनधारा ११ मूल घर भएका अन्दाजी ४५ वर्षिय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जु इङ्नाम लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ ।
‘दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले भने, ‘पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको हो, शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु अनुमान गर्न सकिन्छ। दुवै जनाले सँगै आत्महत्या गरेका हुन् वा अन्य कुनै कारण हो अहिले नै भन्न सकिने अवस्था छैन।’
प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ। सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउ टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डीएसपी महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
दुवै शव कुहिएकोले प्रहरीलाई सनाखत गर्न समस्या परेको थियो। मृतकका दाजुले शवको पहिचान गरेका थिए। कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागेको प्रहरीले जनाएको छ ।इङ्नाम दम्पत्ति करिव १० दिनदेखि बेपत्ता रहेको जनाइएको छ ।
इङ्नाम दम्पत्ति मेचीनगर –१२मा डेरा बस्दै आएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताए । मूल घरबाट उनीहरुले अंश लिइसकेका थिए । करिव एक–डेढ वर्षदेखि इङ्नाम दम्पत्ति घुम्दै फिर्दै हिडेको पाइएको वडाध्यक्ष इङ्नामले बताए । नेत्रकुमारले सन्जुसंग दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भइसकेको नेत्रकुमार पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ । तर, सन्जुपट्टि सन्तान नरहेको वडाध्यक्ष इङ्नामले बताए ।यसअघि पनि सो जंगलमा त्यस किसिमको शव फेला परेको थियो ।