भद्रपुर, पुष ५ । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रगढीको सातौं वार्षिक साधारणसभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छिन् ।

चन्द्रगढीमा सम्पन्न साधारणसभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौला चयन भएकी छिन् भने सदस्यहरूमा यशोदा निरौला, निर्मला दंगाल, मिना कोइराला, पवित्रादेवी बराल, विनादेवी प्याकुरेल र सावित्रा दाहाल निर्विरोध चयन भएका छन् ।

संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा नेप्सकुनका केन्द्रीय सञ्चालक समिति सदस्य घनश्याम अधिकारी, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, बिर्तामोड नगरपालिका सहकारी शाखाका अधिकृत डिल्ली दाहाल, भद्रपुरका सहकारी अधिकृत डिल्ली ढकाललगायतले मन्तव्य राख्दै कृषि उत्थान र स्वरोजगारका लागि सहकारी अपरिहार्य रहेको धारणा राखेका थिए ।

उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौलाले स्वागत गरेको कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट केशकुमारी पोखरेल, उत्कृष्ट ऋण कारोवारबाट मिश्राकुमारी गौतम, उत्कृष्ट बाल बचत सम्मानबाट मन्दिप गुरागाई र विनुजा पौडेल तथा उत्कृष्ट अन्तर समूहबाट समूह नम्बर ५ लाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक प्रगति विवरणसहित आगामी नीति कार्यक्रम पेश गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्