झापा, पुष ५ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।
कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री थापा पार्टीको संसदीय दलको नेताको चुनावमा कोइराला समूहबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । आफ्नै समूहका नेताहरूको चर्को दबाबका बीच नेता शेखर कोइरालाले उम्मेदवारी मनोनयनको केही घण्टा अघिमात्रै संसदीय दलको नेतामा थापालाई अघि सार्ने निर्णय सुनाए ।
गत वर्ष पार्टी महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डासहित देउवाविरुद्व उभिएका कोइरालाको यो निर्णयको सामाजिक सञ्जाल र पार्टी पंक्तिमा प्रशंसा भइरहेको छ । नेताहरूका अनुसार कोइरालाले शर्तसहित थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गरेका हुन् । कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउने शर्तमा थापालाई संसदीय दलको नेता बनाउन सहमति दिएका हुन् । कोइरालाको त्यही शर्तलाई समूहका अन्य नेताहरूले पनि मानेका छन् ।
कोइरालाले आफैं चुनाव लड्दा महामन्त्री थापाले नसघाउने र टिम फुटेर झन् कमजोर हुने भयले यस्तो शर्तसहितको सम्झौता गरेको नेताहरूको भनाइ छ ।
कोइरालानिकट नेता एवम् मोरङ–३ बाट निर्वाचित सांसद सुनिलकुमार शर्माले कोइरालालाई १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने गरी सहमति भएको बताए । ‘अहिले संसदीय दलको नेतामा गगनजी उम्मेदवार हुने, तर १५ औँ महाधिवेशनमा पार्टीको सभापतिको उम्मेदवार शेखर कोइरालालाई बनाउने गरी सहमति भएको छ,’ उनले भने, ‘उहाँलाई भावी सभापतिका रूपमा गगनजीले नै प्रस्ताव गर्नुभयो । त्यसपछि उहाँले गगनजीलाई संसदीय दलको नेताको रूपमा प्रस्ताव गर्नुभएको हो ।’
मंगलबार अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालाले महाधिवेशनमै आफूहरू रुपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएको भन्दै त्यही उद्देश्यले यसपटक संसदीय दलको चुनावमा महामन्त्री थापालाई उम्मेदवार बनाएको घोषणा गरेका थिए । कोइरालाको प्रस्तावमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका थिए ।
कोइरालाको निर्णयले कांग्रेसको संस्थापनइतर समूह फेरि एकपटक विभाजन हुनबाट बचेको छ । यसअघि पार्टीको केन्द्रीय सदस्यमात्रै रहेका कोइराला थापाहरूकै समर्थनमा १४ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बन्दा त्यही समूहका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइराला एकैपटक पाखा लागेका थिए । पौडेल, सिंह र कोइराला महाधिवेशनदेखि नै सभापति देउवासँग छन् । नेता पौडेल यसपटक भने देउवाको प्रस्तावक नै बनेका छन् ।
त्यसअघि १३ औँ महाधिवेशनमा पनि देउवाइतर समूह विभाजित भएको थियो । त्यसबेला इत्तर समूहबाट पौडेल सभापतिको उम्मेदवार बन्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गगन थापालाई महामन्त्रीको उम्मेदवार लिएर अलग्गै समूह बनाएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री थापालाई युवा नेता प्रदीप पौडेलले पनि साथ दिएका छन्।
कृष्ण सिटौला समूहमा रहेका उनले कोइराला समूहका थापालाई साथ दिएका हुन्। सिटौला समूह भने संस्थापन पक्षसँग नजिक छ।
यसैबीच नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भारी मतका साथ संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुने दावी गरेका छन्।
देउवाको समर्थक रहेका नेता खड्काले सञ्चारकर्मीसँगै कुरा गर्दै देउवालाई अधिकांश सांसदको साथ रहेको बताए।
नेता खड्काले राजनीतिक दल र मुलुकलाई एकताबद्ध गर्न देउवाले दलको नेतामा उम्मेदवारी दिएको स्पष्ट पारे।
‘गठबन्धन दललाई मिलाउन देउवाले सक्नुहुन्छ,’ उनले भने,’ अन्य दलले पनि उहाँलाई स्वीकार्नुहुन्छ। त्यसले देउवाजी भारी मतका साथ दलको नेता चुनिनुहुन्छ।’