दमक, पुष ५ । दमकमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।

गएको स्थानीय तहको निर्वाचनमा दमकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाबीच गठबन्धन बनेको थियो ।
मंगलबार दमकमा नेकपा माओवादी दमक नगर कमिटीको बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । माओवादी दमक नगर कमिटीका अध्यक्ष रवि बस्नेतले गठबन्धनको औचित्य समाप्त भइसकेकाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको बताए । उनले त्यस विषयमा पत्रकार सम्मेलन गरेर थप प्रष्ट पार्ने उल्लेख गरे ।
माओवादी बैठकमा राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जनताको जनजीविकाका सवालमा स्पष्ट रुपमा काम गर्न नसकेको भनेर आलोचना भएको थियो ।
माओवादीका दमक नगर इन्चार्ज बेदु गौतमले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएका मेयर थापाले जनताको जीवनस्तर उकास्ने गरी काम गर्न नसकेको आरोप लगाए । बैठकमा उनले वडाका समेत अधिकार खुम्च्याउने गरी नगर प्रमुखले काम गर्न थालेकोसमेत आरोप लगाएका थिए ।
यस्तै बैठकले दमक अस्पतालको व्यवस्थापनमा यसअघि पार्टीले बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएपछि पुष ६ गते पुनः अर्को ज्ञापनपत्र बुझाउने र त्यससम्बन्धी पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले गठबन्धनबाट बाहिर बस्ने र अन्य राजनीतिक दलसँग साझा मुद्दामा समर्थन गर्ने जनाएको छ । बैठकमा नेकपा माओवादीका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरीसहितका नेता समेत सहभागी थिए ।