बिर्तामोड, पुष ६ । झापा बिर्तामोड –२ स्थित चारपानेमा रहेको साङ्गवेद संस्कृत माविका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले गत मंसिर २१ गते एक विद्यार्थीमाथि निर्घात कुटपिट गरेको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यालयका प्रअ न्यौपानेले विद्यार्थीले विद्यालय परिसमा गीत गाएको कारण उनलाई घोप्टो पारेर मुक्का हानेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताएका छन् । प्रअले विद्यार्थी पिताम्बर पौडेलमाथि निर्घात कुटपिट गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए । उनीहरुले मंसिर २१ गतेदेखि नै प्रअको राजीनामा माग गर्दै लगातार कक्षा बहिष्कार गरेका छन् । मंसिर २१ गते नै भएको घटनाको समाधानमा विद्यालय व्यवस्थापन समितिले भने पुष ४ गतेबाट मात्रै पहल गरेको विद्यार्थीको भनाई छ । लामो समयसम्म छलफल नहुँदा पढाईमा असर गरेको एक विद्यार्थीले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिले मंगलवार विद्यार्थी, शिक्षक, शिक्षक अभिभावक संघ, नगर शिक्षा शाखा र जनप्रतिनिधिसहितको छलफल राखेको थियो । उक्त छलफलले प्रअलाई राजीनामा गर्न लगाईसकेको शिक्षक सोमनाथ गौतमले जानकारी दिए । विद्यालयको प्रअको जिम्मा शिक्षक छविराज रेग्मीलाई दिइएको छ ।

दुई दिनअघि शिक्षक, विद्यार्थीमाथि स्थानीयले पनि कुटपिट गरेको बुझिएको छ । स्थानीयले सोमनाथ गौतम, चम्पा खनाल, छविराज रेग्मी, श्याम दाहालमाथि कुटपिट गरेको भन्दै विद्यार्थीले छानविनको माग राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्