झापा, पुष ८ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिएको छ ।

गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । अर्को महिनाबाट स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ । औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । दीर्घरोगी आफैँले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् । औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्