बिर्तामोड, पुष ८ । बिर्तामोड–२ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासोलगायतका हिसाबले आफ्नो संस्था यस वर्ष देशकै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारी संस्था भएको घोषणा गरेको छ ।

‘हामी यो घोषणा गर्न तथा दावी पेश गर्न गईरहेका छौ कि सदस्य, पुँजी तथा सदस्य संरक्षण, समुदायप्रतिको चासोलगायत सम्पुर्ण हिसाबले यस वर्ष मुलुकभरिकै पहिलो र उत्कृष्ट संस्थाको रुपमा रहेको जानकारी गराउँदछौ’संस्थाको मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले भने । २६ औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गिरीले सहारा नेपाल साकोसले आर्थिक वर्ष २०७८÷०७९ मा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको जानकारी दिए । यसबाट सदस्यलाई लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गरिनेछ ।

संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचअनुरुप मिसन–०८८ सम्मको रणनीतिक योजना निर्माण गर्दै एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य तय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
असार मसान्तसम्म संस्थाको ७९ वटा सेवाकेन्द्रमा १ लाख ५९ हजार ७७८ जना शेयर सदस्यहरु संस्थामा आबद्ध छन् ।
त्यस्तै, संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ११ करोड ११ लाख रुपैयाँको रहेको छ । ०७९ असार मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहिरहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ति ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको गिरीले जानकारी दिए ।
गिरीले विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेको जटिल परिस्थितिमा पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरुको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै आएको बताए ।

संस्थाले विगतका सदस्यकेन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ थप कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यवसाय सञ्चालन र अति विपन्न गरिबलाई माथि ल्याउन पहल जस्ता कार्यक्रम प्रस्ताव गरेको छ ।
संस्थाले यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि सारेको छ ।
संस्थाले प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै एटिएम, ट्याबलेट, मोबाइल एप्स सेवा, क्युआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।
संस्थालाई अझै बलियो बनाउन यस वर्ष पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिइने गिरीले बताए ।

संस्थाले चालु आर्थिक वर्षभित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासलात बनाउँदै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको छ ।

संस्थाको २६ औ वार्षिक साधारणसभाको अन्तिम निर्णय पुस्तिका प्रमाणित भेला पुष ९ गते शनिवार हुने भएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशनबमोजिम ९६ स्थानमा एकाई साधारणसभा भेला सम्पन्न गरिसकेको गिरीले बताए । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेकी थिइन् ।
संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा सहारा शिक्षा सदनका विद्यार्थीहरुले सामूहिक रुपमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्