झापा, पुष ८ । विद्यालय स्थापनाको ३५ वर्षपछि हल्दिवारी १ गोलधापस्थित गरमकाली आधारभूत विद्यालयले भव्यरुपमा वार्षिकोत्सव मनाएको छ ।

शुक्रवार एक कार्यक्रम गरी विद्यालयले ३५ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यार्थीहरुले गीत , नृत्य, मार्चपास , पिटीलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल राईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गरेका थिए । उनले हरेक वर्ष विद्यालयले वार्षिकोत्सव गर्दा विद्यालय गतिविधिको लेखाजोखा गर्न सकिने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद पराजुलीले विद्यालयको गतिविधिमाथि प्रकाश पारेका थिए ।

विद्यार्थी आदिती नेम्बाङले स्वागत गरेको कार्यक्रममा हल्दिवारी १ का वडाध्यक्ष देवीबहादुर थापा ,शिक्षा शाखा प्रमुख जनककुमारी राई, जनजागृति माविकी प्रधानाध्यापक इन्दिरा चुँडाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले हल्दिवारीमा रहेका १७ वटा सामुदायिक विद्यालयमध्ये गरमकाली आधारभूत विद्यालय प्रगतिको पथमा लम्किरहेको बताएका थिए ।

कार्यक्रमको संचालन शिक्षक बडाराम हेमरमले गरेका थिए । अंग्रेजी माध्यममा कक्षा नर्सरीदेखि ८ सम्म पठनपाठन भइरहेको सो विद्यालयमा ३६८ जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्