भद्रपुर, पुष १० । झापाको भद्रपुर–२ स्थित किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलमा भीम–किचकको नयाँ मूर्ति अनावरण गरिएको छ ।

शनिवार एक कार्यक्रमका बीच संविधानसभा सदस्य जितु गौतमले भीम–किचकको नवनिर्मित मूर्ति अनावरण गरेका हुन् । मूर्ति अनावरणपछि संविधानसभा सदस्य गौतमले किचकबध सबै जातजातिको पवित्र भूमि भएको बताए ।

‘स्थानीय मात्र होइन, किचकबध नेपालकै सन्दर्भमा सबै जातजातिको पवित्र पुञ्ज हो’, उनले भने, ‘यसको संरक्षण र संवर्द्धनमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी छ ।’ महाभारतकालीन ऐतिहासिक भूमि किचकबधको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत प्राप्त ५० लाख र जनसहभागिता बापतको १२ लाख ५० हजार रुपैयाँको लागतमा घेराबारा र भीम–किचकको मूर्ति निर्माण गरिएको किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । उक्त बजेटमध्ये २३ लाख ७० हजार ८७७ रुपैयाँको लागतमा भीम–किचकको मूर्ति निर्माण गरिएको उनले बताए । त्यस्तै, पर्यटकीय स्थल संरक्षणार्थ ३८ लाख ७८ हजार ६८१ रुपैयाँको लागतमा घेराबारा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्