झापा , पुष ११ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको टोलीले आइतबार साँझ निवासबाटै डीएसपी ठगबहादुर नियन्त्रणमा लिएको हो । सुन कारोबारसम्बन्धी मुद्दामा व्यापारीसँग रकम असुली गरेको विषयमा विवादमा मुछिएका केसीलाई अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा समेत खानतलासी गरेको थियो । खानतलासीबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ । नगद र सुनसहित फेला परेका केसीलाई आइतबार साँझदेखि नै नियन्त्रणमा लिएर राखिएको छ । मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले रकम असुलीबारेको अनुसन्धानमा सीबीआई टोलीले सुरक्षा निगरानीमा राखेको बताए । ‘केही अनुसन्धान गर्नुपर्ने विषय भएकाले सुरक्षा निगरानीमा राखिएको हो । दिउँसो सीबीआई टोलीसँग भेटेपछि थप कुरा प्रष्ट हुनेछ,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्