तपाईं आजसम्म कसैको प्रेममा पर्नुभएको छ ? कसैलाई प्रेम गर्नु भएको छ ? कसैले तपाईंलाई औधी माया गर्नु हुन्छ ? तपाईं कसैलाई औधी मन पराउनुहुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । यदि तपाईंले कसलाई माया प्रेम गर्नु भएको छ मन पराउनु भएको छ भने जब तपाईं आफ्ना प्रेमी÷प्रेमिकाको नजिकमा पुग्नुहुन्छ, तपाईंको धड्कन बढ्न थाल्छ ।तपाईको अनुहारको भाव परिवर्तन हुन्छ । प्रेम एक भावनात्मक कुरा हो । तर, यसको प्रभाव शरीरमा पनि देखिन्छ । कतिले प्रेमलाई इमोसनल वा मनोभावनाको रुपमा व्याख्या गरेको पाइन्छ तर, माया प्रेम त्यति मात्र होइन । माया प्रेम यात्राको सहारा र सहयात्री हो,सम्बन्धको आँट हिम्मत र साहस हो । माया शक्ति हो ।बल हो तर, यति दोहोरो रह्यो भन्ने मात्र । पृथ्वीको जीवहरुमा प्रेमबिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ । प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ । प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र जोड्नु हुँदैन , संसारै मायामै अडेको छ।

प्रेम यो शब्द कति प्रिय छ, मिठो छ सुनिरहँु जस्तो । यसका धेरै आयाम छन्, धेरै रुप छन्। काल्पनिक माया, सांसारिक माया, पारिवारिक माया, माटोको माया, आफ्नो माया, प्राणीको माया, सम्पत्तिको माया, आफ्नाको माया, पराईको माया, आमाको माया, सन्तानको माया, राजाको माया, प्रजाको माया, बहुरुपी छ माया, देखावटी माया, छुपारुस्तम माया, साँचो माया, झुटो माया, दृष्य माया, अदृष्य माया । माया प्रेम विभिन्न किसिमका छन् । तर, यस धर्तीमा मान्छेसंगै कुनै प्राणीले कसैलाई माया सत्य मनले गर्छ भने त्यो अर्थ राख्ने नै गर्नुपर्छ । देखाउन र स्वार्थ राखेर माया गरिन्छ भन्ने त्यो माया हुनै सक्दैन। केटाले केटीलाई मोटी भई ,गोथी छे , लुती भई , नराम्री छे , र केटीले केटालाई अग्लो होचो ,कालो ,लुते लगायतको कुरामा मापन गरेर हेरिन्छ भन्ने त्यो माया होइन । त्यो त केबल आकर्षण मात्र हुन जान्छ । स्वार्थ राखेर गाँसिने सम्बन्ध भन्दा नगाँस्नु जाति हो।
माया प्रेममा त गुण ,व्यवहार ,आचरण ,भाषाशैली ,इमान्दारिता,सच्चाईलगायत बिषय हेर्नुपर्छ । अनि मात्र माया र प्रेमको आभाष सही हुन्छ ।यहाँका सबै प्राणीहरुबीचमा मायाको शितल आँचल लहराइरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि। माया र आफ्नो मायालुप्रति बफादार बनौं पनि। माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताइदिनुहोस् – तपाईँ कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस् , एक कप चिया मात्रै खाए पनि हजारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला । मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर, यति अवश्य भन्दछौँ– यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ । जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ।
प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो। मायाका नाममा कुनै दुव्र्यवहार नगरौं, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔं। बलजफ्ती प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो।
प्रकृतिले पनि हामीलाई माया गर्न सिकाएको छ प्राकृतिक रुपमा न कि विकृत रुपमा । यो प्रकृति, झरना, नागवेली नदी, ताल तलैया, फूलहरु, चराचुरुङ्गी, चखेवा जोडी, यी सबै प्रेम प्रतिक हुन् झैँ लाग्छ मलाई। हाम्रा धार्मिक ग्रन्थ हुन् या मठ मन्दिर , साहित्य हुन् या दन्त्य कथा , सबैमा कतै न कतै प्रेम जोडिएको छ या भनौँ प्रेम गाथा गाएकै छन् गीत संगीतको आविष्कार त प्रेमले नै गरेझैँ लाग्छ मलाई।
किन होला हिजो आज बरालिन्छ मन यो, जति बाँधी राखुँ भन्छु उति उड्छ मन यो । छाया एउटा सँधै डुल्छ, जहाँ जहाँ म डुले फूल भुल्यो भमरामा, कुन्नी केमा म भुलेँ ?? यो शब्द पनि सायद माया प्रेमबाट नै कोरिएको हुनु पर्छ ।डाली डाली फुलेको फूल अनि भमरासहित पिरतीमा परेको प्रेमी या प्रेमिकाको मनोभावना चित्रण गरिएको यो गीतले मायाको मनोभाव दर्शाउँछ ।

तर पश्चिमी सभ्यताका आयातित ’डे’ का भ्यालेन्टाईन डे मनाएको पाइन्छ ।मेरो विचारमा माया गर्ने ,प्रेमका आयाम साट्न कुनै डे,कुनै बार ,कुनै महिना आदि चाहिदैन।त्यसकारण भ्यालेन्टाईन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मितिभन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसात गरिन्छ भने नेपालीहरुलाई दिन विशेषसँग किन समस्या पर्ला र ? मायाको यो दिवस हामी सबैलाई मिठै लाग्छ, कि कसो ?यो दिन लुकीचोरी धेरैजनाले आफ्ना मायाका भावनाहरु साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरु सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान् भने कति त्यस्ता प्रेमकथाहरुमा ब्रेक पनि लाग्लान् तर, यसको अर्थ संसार सक्किएको होइन, तपाईलाई माया गर्ने पात्रको खडेरी परेको हैन, सायद ! तपाईलाई धेरै माया अर्कै पात्र अन्त कतै छ.. कुरी बसेको छ त्यो बुझ्नु आवश्यक छ ।अनि मन मिलुन् जेल माया लाग्ने नमिले पछि मन नपराउने त्यो पनि माया होइन फेरि ।

एउटा अचम्मको तथ्य के छ भने, ‘संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्तभन्दा वियोगान्त छन् ।’ अर्थात माया सहज छैन, उदाहरणका लागि भगवान श्री कृष्ण अनि राधाबीच समेत विवाह भएको थिएन, मुना–मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियटसम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमी मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण….
मनै त हो, स्वीकारिए पनि या अस्वीकार भएपनि आत्तिने अनि मात्तिने नगरौं आफूले एकोहोरो चाँहदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने जरूरी छैन, मूल कुरो हो एकअर्काबीच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमी सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरीका कुराहरू अधूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको महत्वपूर्ण कारण हो।

संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन हो भ्यालेन्टाईन डे। आफूले माया गरेको, मन पराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन हो । अर्थात प्रणय दिवस । तर पछिलो समय यो डेलाई विकृतिका रुपमा पनि हेरिएको छ । खर्चिलो र गलत ढङ्गले यस पर्व मनाएकै कारण यो डेको गलत व्याख्या भएको छ ।त्यसर्थ माया प्रेम गर्ने कुनै डे कुरिराख्नु पर्दैन।यो प्रेमिल दुनियाँलाई अगाध, असिम माया छ मेरो। सबैलाई प्रेमी भएर बाँच्ने शुभकामना छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्