विराटनगर, पुष १२ । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलका लागि शुक्रबार निर्वाचन हुने भएको छ।

दलको नेता छान्ने सहमतिको प्रयास असफल भएपछि निर्वाचन गरेर कांग्रेसले संसदीय दलको नेता चयन गर्ने भएको हो।
नेपाली काँग्रेसमा प्रदेश १ को संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ ।
दौडमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा अगाडि देखिएका छन् । प्रदेश १ कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा सबैभन्दा अघि उद्धव थापा रहेको देखिएको छ । काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा मध्यमार्गी सिटौला निकट हुन् भने अन्य समूहसंग पनि बिश्वासमा काम गर्न सक्ने ईमानदार नेताको छवि बनाएका छन् । उनी देउवा समूहले पनि बिश्वास गरेका नेता हुन् । उनले यसअघि कोइराला समूहनिकट रहेर काम गरेका थिए ।

१४औं महाधिवेशनमा सिटौला देउवासँग निकट भएसँगै थापा संस्थापन पक्षबाट प्रदेश १ को सभापतिको उम्मेदवार भएका थिए ।

गुरुराज घिमिरेलाई हराएर उनी सभापति भएका हुन् । संसदीय दलको नेता बन्ने दौडमा रहेका अर्का नेता केदार कार्की भने काँग्रेस नेता शेखर कोइरालानिकट मानिन्छन् ।
कोइराला समूहबाट संसदीय दलको आकांक्षा राखेका राजीव कोइराला र गुरुराज घिमिरे निर्वाचनमा पराजित भएपछि कार्की उम्मेदवारका रुपमा देखिए पनि थापाको नाम सर्वसम्मत बने अमृत अर्याल र कार्कीले समर्थन गर्ने संभावना देखिएको प्रदेश १ का एक सांसदले बताए ।

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ। प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद रहेकोमा १६ बढी प्रदेश सांसदहरुको समर्थन थापालाई रहेको बताईएको छ ।
विराटनगरमा सोमबार अपराह्न बसेको कांग्रेस प्रदेश १ को कार्यसमिति बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो। संसदीय दलको बैठक पुष १५ गते बस्ने र सोही बैठकले दलको नेता टुंगो लगाउने छ। दलको नेताको चयन भएपछि उपनेता, प्रमुख सचेतकको चयन हुने छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्