झापा , पुष १५ । कम्वोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका एकजना नेपालीको समेत मुत्यु भएको छ।

थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । सो घटनामा परी झापा बिर्तामोड १ का निराकर पाण्डेको पनि मुत्यु भएको हो । उनी बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन् । निराकर पाण्डेको मृत्यु भएको कुरा पुष्टि भइसकेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए ।

पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार राति अबेर लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् । आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्