झापा, पुष १५ । झापामा गुरुङ समुदायको महान चाड तमु ल्होसार विविध कार्यक्रमकासाथ शुक्रवार मनाएका छन् ।

यस अवसरमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिले बिर्तामोड–३ स्थित बुद्धनगरमा विविध कार्यक्रम गरी तमु ल्होसार मनाएको छ । नगर अध्यक्ष सलबहादुर गरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं रहेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रसाईंले नेपाल विभिन्न जातजातिको साझा फूलबारी भएकाले जातीय सद्भाव, जातीय एकता र भाइचारा हुनुपर्नेमा जोड दिइन् ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद पूर्व केन्द्रीय सदस्य जलकुमार गुरुङ, तमुस्यो झापा अध्यक्ष अमृता गरुङ, बिर्तामोड–३ का वडाध्यक्ष मदनकुमार बुडाथोकी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीलगायतले मौलिक परम्परालाई जीवन्त राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले ‘संस्कार र संस्कृति बाँचे मात्रै हामी बाँच्छौं, सबैले संस्कार र संस्कृतिको संरक्षणमा एकजुट हुनुपर्छ’ भनेका थिए ।
त्यस्तै, शुभकामना आदानप्रदानसँगै आयोजित डोरी तान्ने प्रतियोगितामा (ख) समूहका शेरबहादुर गुरुङलगायतको टोली प्रथम भएको छ । म्युजिकल चियर प्रतियोगितामा तारा गुरुङ प्रथम, रनमाया गुरुङ द्वितीय भएका छन् ।

यस्तै, नृत्य प्रतियोगितामा अर्जुनधारा नगरपालिकास्थित माता मन्दिरका सांस्कृतिक टोली प्रथम, बिर्तामोड–५ तमु टोल नृत्य टोली द्वितीय, बिर्तामोड–३ बुद्धनगरका नृत्य टोली तृतीय र बिर्तामोड–५ तमु टोल शितल तमुस्यो साथीहरुको टोली सान्त्वना भएको छ भने एकल नृत्यमा सोनिया गुरुङ प्रथम भएकी छन् । विजेताहरुलाई नगद, खादासहित सम्मान एवम् पुरस्कृत गरिएको छ ।
तमु ग्रन्थ अनुसार पुष १५ सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हो । गुरुङ समुदायले मौलिक चाड तमु ल्होसारका दिन शुक्रवार बाघ वर्गलाई बिदाई गर्दै बिरालो वर्गलाई स्वागत गरेको छ ।
कार्यक्रममा नगर उपाध्यक्ष निर्मला गुरुङले स्वागत एवम् सचिव लीला गुरुङले सञ्चालन गरेका थिए ।

त्यस्तै मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् ।
तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर–७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती र संविधान सभा सदस्य उषा गुरुङले संयुक्त रुपमा गरेका थिए ।

आयोजक परिषद्का अध्यक्ष सुभास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संविधानसभा सदस्य उषा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर वडा नम्बर–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव होमराज गुरुङले सञ्चालन तथा परिषदका उपाध्यक्ष प्रकाश गुरुङले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा तमु कलाकारले आफ्नो पहिचान र कला झल्किने भेषभूषामा साँस्कृतिक कार्यक्रम गरेका थिए भने तमु समुदायका ज्येष्ठ सदस्य ८० वर्षीय केशरबहादुर गुरुङ र ८९ वर्षीया चन्द्रमाया गुरुङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्