बिर्तामोड,पुष १६ । बिर्तामोड– ५ स्थित जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा २७ लाखभन्दा बढी नाफा आर्जन गरेको छ ।

संस्था यस वर्ष २७ लाख ३२ हजार ७३३ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । शनिवार बिर्तामोडमा आयोजित संस्थाको नवौं वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले गत वर्ष २२ लाख ८६ हजार ६३३ रुपैयाँ नाफा भएकोमा यस वर्ष नाफा बढेको बताइन् । उनले यस वर्ष संस्थाको वासलात ८ करोड ६३ लाख ८ हजार ७१० रुपैयाँ पुगेको जानकारी दिइन् । २०७० जेठ ९ गते एक लाख शेयर पुँजीबाट शुरु भएको संस्थाको हाल कुल चुक्ता पुँजी १ करोड ६३ लाख १३ हजार ५७२ रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप हिसाब ५ करोड ३९ लाख ५१ हजार ५९५ , कोष हिसाब ५० लाख ४८ हजार ७९ र कर्जा लगानी ८ करोड ५९ हजार ८६८ रुपैयाँ छ । संस्थामा हाल २५११ जना शेयर सदस्य पुगेको अध्यक्ष राजवंशीले बताइन् । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरुले आर्थिक कारोवारसंगै सामाजिक उत्तरदायित्वलाई पनि बहन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विशिष्ट अतिथिहरु बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल , युवा तथा स्वरोजगार कोषका सदस्य सचिव सन्तोष सापकोटा, अतिथिहरु नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, नारी संचार गृहकी अध्यक्ष भीमा शिवाकोटी , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नं ३ की वडा सदस्य धनसरी राजवंशीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ज्येष्ठ सदस्यहरु मेघाली राजवंशी , दुर्गाबहादुर भट्टराई , एसईईमा उत्कृष्ट शेयर सदस्यका सन्तान राहुल राजवंशी ,उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु डिम्पीदेवी लकान्द्री र सीता उप्रेतीलाई सम्मान र पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीहरु लेखापाल आयना आचार्य र बजार प्रतिनिधि तारा अधिकारीलाई पुरस्कृत गरिएको थियो । स्वागत मन्तव्य संस्थाकी सदस्य अनिता कार्की बस्नेतले गरेको कार्यक्रमको संचालन सचिव ममता राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्