झापा, पुष १७ । मेची नदीमा निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि नेपाल–भारत सीमा नाका जोड्ने मितेरी पुलसहितको एसियन हाइवे आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सीमा नाकामा ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै स्थानीयमा उल्लास छाएको छ। नेपालतर्फको मेची भन्सार कार्यालय र भारततर्फको नक्सलवारी भन्सार कार्यालयका प्रमुखहरूले आइतबार दिउँसो १ बजे आ–आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका सवारीसाधनलाई प्रस्थान गर्न अनुमति दिएर मितेरी पुल सञ्चालनमा ल्याएका हुन्।
मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र नक्सलवारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पाले आआफ्नो भूमिमा उभिएर पुल सञ्चालन गर्नुअघि रिबन काटेका थिए।

मितेरी पुलको लम्बाई ५७५ मिटर रहेको छ। पुरानो मेची पुल नजिकैको पूर्वपट्टि मितेरी पुल बनाइएको हो। उद्घाटन अगावै मितेरी पुलबाट ठुला मालवाहक सवारीसाधनलाई मात्र ओहोरदोहोर गर्ने अनुमति दिइएको थियो।
आजदेखि सवारीसाधनसहित पैदलयात्रीले पनि मितेरी पुल प्रयोग गर्न पाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। तर त्यसका लागि पनि केही नियम बनाएको छ।

‘पानीटंकी बजार गर्ने जानेहरूको हकमा पुरानो पुल प्रयोग गर्नुपर्ने हुन्छ, नयाँ पुलमाथिबाट टाढा गन्तव्य जानेहरूले मात्र प्रयोग गर्न पाउँछन्,’ उनले भने।
ट्याम्पो, अटो रिक्सा, मोटरसाइकल र साइकललाई सम्भवतः पुरानो पुल प्रयोग गर्न लगाइन्छ। ‘नाकामा हुने ट्राफिक जाम आजदेखि अन्त्य भएको छ,’ डीएसपी महतोले भने, ‘अब नाकालाई थप व्यवस्थित बनाउन नयाँ र पुरानो दुवै पुल प्रयोगमा ल्याइएको छ।’
६ लेनको नयाँ पुल फराकिलो र सुविधाजनक भएकोले नाकामा आवागमन सहज हुने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए। आजदेखि नयाँ पुलबाट सबै प्रकारको सवारीसाधनले आवागमनको अनुमति पाएको उनले बताए।

२०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेची नदीमा ५७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणका लागि सम्झौता गरेका थिए।
एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण गरिदिएको छ।
पुल तथा सडक निर्माणको क्रममा मेचीनगर–६ काँकडभिट्टा पश्चिमी भागमा बसोबास गरेका ४३ परिवारलाई नेपाल सरकारले तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा दिएर त्यहाँबाट हटाएका थिए।

चौतर्फी दबाब पश्चात् नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको गत पुस ६ मा बसेको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहित एसियन हाइवे जनवरी १ देखि सञ्चालन गर्ने लिखित सहमति गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्