झापा , पुष १८ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने कारागारमा छन् ।

उनले केन्द्रीय कारागार सुन्धारामा जेल जीवन भोगिरहेका छन् । नाबालिक बलात्कार आरोप लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले कात्तिक १८ मा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । त्यसपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ । जेल प्रशासनका अनुसार उनी अरु कैदीहरुसंगै बस्छन् । उनलाई भेट्न प्रायजसो परिवारका सदस्य मात्रै पुग्ने गरेका छन् । ‘स्टार’ क्रिकेटरबाट जेल पुगेका लामिछानेको दैनिकी अन्य कैदीहरुको जस्तै छ । तर उनलाई क्रिकेट मोहले छाड्न सकेको छैन् । कारागारभित्र रहेको सानो खेलमैदानमा उनी क्रिकेट खेल्छन् । कारागारका कर्मचारीहरुका अनुसार उनले ‘टेनिस’को बलले क्रिकेट खेल्छन् । अरुलाई पनि सिकाउँछन् । उनले कारागारभित्र क्रिकेटको प्रशिक्षकको रुपमा अरुलाई ब्याटिङ र बलिङ गर्न सिकाउने गरेको कर्मचारीहरु बताउँछन् । दिनभरी भने उनी क्रिकेट खेल्न पाउँदैनन् । एउटै सानो मैदान भएकाले अन्य खेल पनि त्यहाँ हुने गरेको छ । त्यसैले समय मिलाएर बेला-बेलामा उनी क्रिकेट खेल्न मैदानमा निस्किन्छन् ।