भद्रपुर, पुष १८ । झापाको भद्रपुर–२ स्थित साना किसान कृषि सहकारी संस्थाको २४औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा संस्थाले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई मरणोपरान्त अभिनन्दन गरेको छ भने भरतमोहन स्मृति विश्रामालय उद्घाटन गरिएको छ ।
साना चिया किसानहरु विस्थापित हुने अवस्था भएका बेला तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारी चिया प्रशोधन कारखाना स्थापना गर्न रू तीन करोड १० लाख अनुदान उपलब्ध गराएको संस्थाकी अध्यक्ष इन्दिरा निरौलाले जानकारी दिइन्।

‘सहकारीलाई औद्योगिक युगमा प्रवेश गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ’, उनले भनिन् ‘चिया प्रशोधन कारखाना सञ्चालनमा आएपछि यहाँका साना चिया किसान विस्थापित हुने अवस्था अन्त्य भएको छ ।’
कार्यक्रममा अधिकारीसँगै राष्ट्रिय सहकारी बोर्डका सदस्य खेमबहादुर पाठक, कृषि विकास बैंक भद्रपुर शाखाका पूर्व अधिकृत जलनकुमार शर्मा, नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराई, साना किसान लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी प्रमुख झलेन्द्र भट्टराई र भरतमोहन स्मृति फाउण्डेशनका सचिव महेश आचार्यलाई अभिनन्दन गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, संस्थाकी अध्यक्ष निरौलालगायतले उनीहरुलाई अभिनन्दन–पत्र प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा संस्थाका उत्कृष्ट समूह ३९, उत्कृष्ट अन्तरसमूह ७ (ख), उत्कष्ट बाल बचतकर्ता आस्मा दाहाल, उत्कृष्ट बाख्रापालक मनिष दाहाल, उत्कृष्ट शेयर लगानीकर्ता कल्पना सुब्बा, उत्कृष्ट भैंसीपालक अर्जुन सुवेदी, उत्कृष्ट किसान धनबहादुर गिरी, उत्कृष्ट बंगुरपालक बसन्ती लिम्बू, उत्कृष्ट कर्मचारी सुरज अधिकारीलाई सम्मान गरिएको थियो ।
यस्तै, शेयर सदस्यका सन्ततिमध्ये सामुदायिक र निजीमा उत्कृष्ट अंक ल्याउने रिना पुरी, मिलन लिम्बू, लक्ष्मी अधिकारी र सविना तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
सहकारीमा हाल दुई हजार ३४२ जना शेयर सदस्यको रू ३ करोड १९ लाख ६० हजार चार सय शेयर पुँजी रहेको छ । सहकारीको ऋण लगानी रू १५ करोड ९७ लाख र बचत संकलन रू १९ करोड २० लाख रहेको छ । संस्थाले सदस्यलाई रू ४३ लाख ३६ हजार ब्याज छुट दिएको संस्थाका लेखा समिति संयोजक शिवकुमार राजभण्डारीले जानकारी दिए ।

सहकारीले २५ जना किसानलाई पशुपालन तालिम, २० जनालाई तीन महिने सामुदायिक पशु सहायक र २० जनालाई सामुदायिक कृषि सहायकको तालिम दिएको छ ।
सहकारीमार्फत सञ्चालित चिया प्रशोधन कारखानाले किसानबाट १६ लाख ८९ हजार ६७९ केजी हरियो चियापत्ति खरीद गरी तीन लाख ६८ हजार ४४७ केजी तयारी चिया उत्पादन र एक लाख ८९ हजार ९७० केजी तयारी चिया बिक्री गरेको सहकारीका मुख्य प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिए।

कार्यक्रममा भद्रपुर नगरपालिका नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भद्रपुर–२ वडाध्यक्ष राम कँडेल, मिना ढकाल, सुवास गौतमलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष निरौलाले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक राजभण्डारीले लेखा समितिको प्रतिवेदन, संस्थाका कर्मचारी चुडामणि खतिवडाले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष तोयानाथ गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक देवीप्रसाद कोइरालाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्