झापा , पुष १९ । झापामा बढ्दो आत्महत्या दरलाई रोक्नका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवंम प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनले प्रहरीका सबै कार्यालयहरूलाई नागरिक मैत्री बनाउँदै तत्काल गुनासो सुनुवाई गर्ने किसिमले विकास गर्ने पनि प्रतिबद्धता जनाएका छन् । एक साता अघि सरुवा भएर झापा आएका रेग्मीले नियमित कामहरूलाई निरन्तरता दिँदै आत्महत्या न्यूनीकरणलाई प्राथमिकताका साथ लिएर आफू अघि बढ्ने बताए । मनोसामाजिक परामर्श अभियानलाई हरेक स्थानीय तहमार्फत टोल टोलमा पुर्‍याएर आत्महत्या न्यूनीकरण गर्न सकिने पनि उनले बताए । लागूऔषध, चोरी तस्करी, राजस्व चुहावट लगायतको क्षेत्रमा मात्र होइन अव मानिसहरूलाई मर्नबाट कसरी जोगाउन सकिन्छ भनेर ध्यान दिने बेला भएको छ , उनले भने । झापा देशमै सबैभन्दा बढी आत्महत्या हुने जिल्लाहरूमा प्रमुख रूपमा आउँछ र यो कार्यलाई निरुत्साहित गर्न हामी सबै लाग्नुपर्छ, रेग्मीले बताए । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३११ जना र २०७७/०७८ मा ३३४ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा उल्लेख रहेको छ । यसैगरी २०७६/०७७ मा २२३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही आर्थिक वर्षमा झापाको कचनकवलमा एउटै रुखमा ३ जना र केहि दिन अघि चारआलिको जङ्गलमा २ जनाले आत्महत्या गरेका थिए । रेग्मीले प्रहरी कार्यालयमा आइपुगेको सेवाग्राही अलमलमा नपरी सेवा दिने अवस्था बनाउन सबै मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जनाउँदै सोही अनुसार हुने पनि बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्