झापा , पुष २० । डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् ।

मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् ।

डेरी उद्योग सङ्घमा आवद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेका थिए । तर, उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो । मूल्य वृद्धि गर्ने आवश्यकताको अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको नेतृत्वमा कार्यदलसमेत गठन गरिएको छ । सो कार्यदलले देशैभर अध्ययन गरेर दूधको मूल्य वृद्धि सम्बन्धमा प्रतिवेदन बुझाएपछि थप निणर्य लिने डेरी उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अरनिको राजभण्डारीले बताए ।

दूधको मूल्य बढाउने सम्बन्धमा वैज्ञानिक रूपमा अध्ययन गरेर गर्ने सहमति भएको उनले बताए । बोर्डका निर्देशक यादवका अनुसार उद्योगीहरूले गरेको मूल्य वृद्धि राष्ट्रिय दूध विकास नीति २०७८ र राष्ट्रिय दूध विकास ऐनविपरीत थियो । त्यसै विषयमा उद्योगीसँग भएको छलफलका आधारमा मूल्य वृद्धि फिर्ता भएको उनले जानकारी दिए । “उपभोक्ता, किसान र उद्योगी सबैको आवश्यकता हेरेर मात्र दूधको मूल्य वृद्धिको निणर्य हुन्छ,” उनले बताए । त्यसैका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको उनले बताए । निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्य वृद्धि गरिएको थियो । सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रुपियाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । तर, उद्योगीहरूले सो मूल्यलाई मान्यता नदिई आफ्नै तरिकाले मूल्यमा वृद्धि गरेका थिए । त्यसबेला सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन । यस पटक सरकारसँग कुनै समन्वय नै नगरी दूधको मूल्यमा वृद्धि गरेपछि सरकारले मूल्य वृद्धि फिर्ता लिन लगाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्