झापा,पुष २१ । बिर्तामोड– ९ आदर्श चौक निवासी शान्ताकुमारी आचार्यको १३ औं दिनको पुण्यतिथिमा परिवारले स्थानीय कालिमाता मठ मन्दिर व्यवस्थापन समितिलाई एकलाख बढीको सहयोग गरेका छन् ।

मन्दिर समितिको अक्षय कोषका लागि आचार्य परिवारले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । शान्ताकुमारीको ५६ वर्षको अल्पायुमा पुष ९ गते क्यान्सर रोगबाट निधन भएको थियो । जीवित रहँदा घरनजिकको मन्दिरका लागि केही सहयोग गर्ने उनले इच्छा राखेकी थिइन् । बिर्तामोड– ९ मा रहेका गरिब बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्धेश्यले आफ्नो परिवारका तर्फबाट सो सहयोग गरिएको शान्ताकुमारीका देवर टैलेन्द्र आचार्यले बताए । आफ्ना दिवंगत दाजु रमेश र भाउजु शान्ताकुमारीको संझनामा अक्षय कोष स्थापनाका लागि सो सहयोग गरिएको उनले जानकारी दिए । शान्ताकुमारीका श्रीमान् रमेशको करिब १२ वर्षअघि निधन भएको थियो ।

सहयोग रकम शान्ताकुमारीका सासू आमा भीमाकुमारी आचार्यले मन्दिर समितिका उपाध्यक्ष रविन बुढाथोकीलाई हस्तान्तरण गरिन् । सहयोग हस्तान्तरण कार्यक्रममा
शान्ताकुमारीका छोरा प्रकाश ,बुहारी सरिता , छोरीहरु सुस्मिता , अस्मिता ,जेठाजु शंकर आचार्य , मन्दिर समितिका काजी बुढाथोकी ,जगत कटुवाल, जीवन शिवाकोटी , गणेश उप्रेती ,संजय पौड्याल, रोशन पौड्याल,मोहन पौड्याललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्दिर समितिका तर्फबाट काजी बुढाथोकीले अल्पायुमै छिमेकी शान्ताकुमारीलाई गुमाउनु पर्दा सिंगो गाउँ समाज दुःखित बनेको बताए । उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

मन्दिर समितिले सामाजिक रुपान्तरणको अभियानमा धार्मिक र सामाजिक गतिविधि गर्दै आएको अध्यक्ष युवराज रोक्काले बताए । जसमा आदर्श चोकमा सार्वजनिक धारा निर्माण गरी पिउने पानी सेवा संचालन साथै सडक बत्ती व्यवस्थापन गर्दै आएको उनले बताए । यसैगरी सार्वजनिक स्थलमा सूचना पाटी तथा डस्बीन राखिएको छ । विगतमा दुर्गा माध्यमिक विद्यालय गरामनीलाई एक विगाह जग्गा दान दिएर हाल बिचल्लीमा रहेका स्व. उजारु राजवंशीको घर निर्माणको लागि २० बोरा सिमेन्ट सहयोग गर्ने निर्णय गरिएको रोक्काले जानकारी दिए । साथै क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक तथा प्रारम्भिक परीक्षण कार्यक्रम आयोजना गर्ने योजना समेत रहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्