भद्रपुर, पुष २२ ।झापाको भद्रपुरमा बनेको मेची पुल भएर सवारीसाधन आवतजावतलाई सहज बनाउने सहमति भएको छ ।

निजी साना सवारीसाधन र सामान ढुवानी गर्ने खाली यातायातका साधनको सहज आवागमनका लागि दुवै देशका प्रतिनिधिबीच विहीबार मौखिक सहमति भएको हो।उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग संघसहित नेपाल भारत मैत्री संघका प्रतिनिधि तथा नेपाल–भारतका सरकारी निकायका प्रतिनिधिबीच यातायातका साधनलाई सहज आवागमन गर्न दिने सहमति भएको हो।

सहमति अनुसार परमिट नलिएका नेपाली नम्बरका साना निजी सवारीसाधनहरूलाई गलगलिया बजार र गलगलियास्थित बस स्टेण्डसम्म बिनारोकटोक पुग्न दिने तथा मालसामान ओसारपसारमा प्रयोगमा आउने भारतीय नम्बर प्लेटका खाली सवारीसाधनलाई भद्रपुर बजारसम्म आउन दिइने छ।

त्यसरी सामान ढुवानी गर्नका लागि भद्रपुर बजारमा आउने सवारीसाधनहरू माल लोड गरेपछि भने अर्कै रूट भएर भारतीय भूमिमा जानुपर्ने सहमति भएको झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले जानकारी दिए। पुल निर्माण भएपनि भारतीय क्षेत्रको गलगलियामा भारतले कस्टम अफिसको स्तरीकरण नगर्दा मालसामान ढुवानीसहित सवारी आवागमनमा असहजता कायमै छ। यद्यपि भारतीय नाका गलगलियाको रेल्वे तथा सुरक्षा प्रणाली र भन्सार स्तरीकरण गरी मानव र सवारीसाधनको सहज र व्यवस्थित आवागमनको प्रयास गरिरहेको भारतीय पक्षले जनाएको छ।

झापा उद्योग संघ र नेपाल भारत मैत्री संघको पहलमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एक अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मी र सचिव कृष्ण दाहाल, भद्रपुर भन्सारका प्रभुनारायण मेहता, वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष बुढाथोकी र सशस्त्र सीमा सुरक्षा बल भद्रपुरका इन्स्पेक्टर रामप्रसाद घिमिरे सहभागी थिए । त्यस्तै भारतीय पक्षबाट एसएसवी हरिस सिन्हा, गलगलिया भन्सारका सुपरिटेन्डेन्ट रामनाथ राम, सुपरिटेन्डेन्ट उमेशकुमार, इन्स्पेक्टर राजेश कुमार र पूर्व मुखिया गणेश राय समेतको उपस्थितिमा सो सहमति भएको उद्योग संघका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्