गौरीगञ्ज पुष २२ । गौरीगञ्ज गाउँपालिकाले करार र आन्तरिक स्रोतबाट विभिन्न पदमा कार्यरत ५ जना कर्मचारीलाई पदमुक्त गरेको छ ।

उनीहरूको करार अवधिलाई गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले म्याद नथपेपछि उनीहरू स्वतः पदमुक्त भएका हुन् । गाउँपालिकाको शिक्षा शाखामा अधिकृतका रूपमा कार्यरत केशव भट्टराई, गौरीगञ्ज आधारभूत अस्पतालमा कार्यरत कर्मचारी मदन मुर्मू र विशाल कार्की, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सावित्री राजवंशी र मनिष यादवको करार म्याद सकिएको गाउँपालिका स्रोतले जनाएको छ ।

शिक्षा शाखामा कार्यरत केशव भट्टराई शिक्षा अधिकृतको रूपमा थिए । उनलाई गाउँपालिकाले आन्तरिक स्रोतबाट करारमा सेवा सुविधा दिएर राखेका थिए । गाउँपालिकाको शिक्षा शाखामा शिक्षा अधिकृतको रूपमा स्थायी दरबन्दीमा कार्यरत टंकप्रसाद खरेल रहेकाले सोही पदमा भट्टराईको करार म्याद थप्न नसकिएको एक जनप्रतिनिधिले बताए ।

त्यसैगरी कर्मचारी मदन मुर्मूको नेपाली नागरिकताको प्रमाणपत्र नभएका कारण उनको पनि करार म्याद थप्न नसकिएको जनाईएको छ । गौरीगञ्ज अस्पतालमा कार्यरत प्राविधिक कर्मचारी विशाल कार्कीले कार्यालयको कार्यसम्पादनमा सहयोग नगरेको र कार्यालयको अनुशासनमा नरही पटक पटक आफूखुशी कार्य गर्ने गरेकाले स्वास्थ्य शाखाको सिफारिसमा कार्यपालिका बैठकले उनको करार म्याद पुनः थप्न नसकिएको बताईन्छ ।

गौरीया प्रावि बाह्रसुद्वीका शिक्षक मनिस यादव र गौरीगञ्ज प्राविकी शिक्षिका सावित्री राजवंशीलाई गाउँपालिकाले आर्थिक व्ययभार बहन गर्न नसकेका कारण उनीहरूको पनि करार म्याद नथपिएको बताईएको छ । उनीहरूको करार सेवाको म्याद गत असारसम्म मात्र रहेको र थप ५ महिनाको आर्थिक ब्ययभार गाउँपालिकाले व्यहोरेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्