झापा, पुष २३ । इलामको रोङ गाउँपालिकाले पहिलोपटक गुन्द्रुक सिंकी ब्राण्डिङ्ग कार्यक्रम शुरु गरेको छ ।

स्वीस सरकारको सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमको ३४ लाख ४५ हजार ,देवनछाप साना किसान कृषि सहकारी संस्थाको १५ लाख ८० हजार र रोङ गाउँपालिकाको १७ लाख ६० लाख हजार गरी ६७ लाख ८५ हजार रुपैयाँको लागतमा सो कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमका लागि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवास , देवनछाप साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बमबहादुर राई र नेपाल कृषि बजार विकास कार्यक्रमका प्रतिनिधि विष्णु काफ्लेबीच संझौता भएको छ ।

परीक्षणका लागि यस वर्ष रोङ गाउँपालिका वडा नं ५ मा गुन्द्रुक सिंकी ब्राण्डिङ्ग कार्यक्रम शुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । उनले अबको दुई हप्तापछि गुन्द्रुक सिंकी ब्राण्डिङ्ग शुरु गरिने जानकारी दिए । गुन्द्रुक सिंकी ब्राण्डिङ्गका लागि Culture Development and Multiplication by National College of Food Science and Technology   काठमाडौंको प्राविधिक सहयोग रहने छ । माइक्रो बायोलोजिस्ट आशिक तिवारीसंगै गुन्द्रुकमा पिएचडि गरेका डा. टीकाबहादुर कार्कीले सहयोग गर्ने भएका छन् । फुड टेक्नोलोजिस्ट दिक्षा भट्टराई तीन महिनाका लागि रोङ गाउँपालिका आइपुगेको अध्यक्ष स्याङ्बोले बताए । त्यस्तै कृषि मन्त्रालय १ नं प्रदेश खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले पनि सहयोग गर्ने भएको उनले जानकारी दिए ।

देवनछाप साना किसान कृषि सहकारी संस्थाको साना किसान कृषि प्रशोधन उद्योगमार्फत उत्पादन , ब्राण्डिङ्ग , प्याकेजिङ्ग, मार्केटिङ्गको सबै कार्य हुने भएको हो । यस बर्ष कम्तिमा ३ सय र बढीमा १ हजार केजि गुन्द्रुक सिंकी उत्पादन गर्ने लक्ष्य रहेको छ । पहिलो वर्ष उत्पादक कृषकको रुपमा ६० जना रहेका छन् । त्यसलाई आगामी बर्ष बृहत् गर्ने लक्ष्य रहेको अध्यक्ष स्याङ्बोले बताए । गुन्द्रुक सिंकी ब्राण्डिङ्गका लागि ६ दिनअघि कृषि मन्त्रालयका सचिब मेघनाथ तिम्सिनाको टोलीले अगुवा किसान , सहकारीकर्मी , जनप्रतिनिधि ,कर्मचारीलगायतसंग अन्तरक्रिया गरेको थियो । अब उत्पादनका लागि आधारभूत तालिम गराइने रोङ गाउँपालिकाले जनाएको छ ।

उत्पादनको लागि हाललाई ड्रायरलगायतका कामका लागि निजी ब्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गर्ने र यहि आर्थिक वर्षमा त्यस्तै उद्योग देवनछाप साना किसान कृषि सहकारीको जग्गामा स्थापना गर्ने अध्यक्ष स्याङ्बोले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्