झापा , पुष २३ । सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन विदा दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख छ । यद्यपि यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन बाँकी छ । सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको मस्यौदाको पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक विदा दिने’ उल्लेख छ । मस्यौदालाई शनिबार शीर्ष नेताहरूको बैठकले आधिकारिकता दिएपछि सार्वजनिक गरिनेछ । सत्तारुढ गठबन्धनमा रहेको राप्रपाले सरकारमा जान राखेको शर्तमध्ये ‘पृथ्वी जयन्तीमा विदा दिनुपर्ने’ पनि उल्लेख थियो । मुलुकमा राजतन्त्र छँदा पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक विदा दिने गरिएको थियो । राजतन्त्र ढलेसँगै विदा कटौती गरियो । यस बिचमा २०७४ सालमा पृथ्वी जयन्तीका दिन राष्ट्रिय पर्वका रूपमा सार्वजनिक विदा दिइएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री रहेका वेला तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको पहलमा विदा दिइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्