एजेन्सी । जेलमा रहेका लागूऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ।

उक्त झडपमा १० सैनिक र १९ संदिग्ध अपराधी मारिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । “दुर्भाग्यवश, कर्तव्यपालनको क्रममा सेनाका १० सदस्यले आफ्नो ज्यान गुमाउनुपरेको छ ,” रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारसँग भने । बिहीबारको कारबाहीमा ‘कानुन उल्लंघन गर्ने’ संदिग्ध लागूऔषध कारोबारी पनि मारिएको उनले बताए । सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुवाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो । उत्तरपश्चिमी सहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको ६ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ । ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आउँदो हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ । बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्