झापा, पुष २३ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कनकाई नगरपालिकाको लक्ष्मीपुरस्थित लक्ष्मी पार्कमा साधारणसभा भएको थियो । जिल्लाका करिव १५० जना पुस्तक तथा व्यवसायी सभामा सहभागी थिए । साधारणसभाले जिल्ला समितिको रिक्त उपाध्यक्ष पदमा शिवसताक्षीका विनोद सापकोटा, सहसचिवमा बिर्तामोडका सन्तोष बुढाथोकी र कोषाध्यक्षमा अर्जुनधाराका चन्द्र घिमिरेलाई चयन गरेको छ ।

यस्तै सदस्य पदमा शिवसताक्षीकी निर्मला भण्डारी यादव र कनकाई नगरपालिकाबाट लक्ष्मीप्रसाद अधिकारी र दिपक खतिवडा निर्विरोध चयन भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष संजय शर्मा सापकोटाले जानकारी दिए ।

त्यसअघिको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रीय सदस्य रविन बरालले पुस्तक तथा स्टेशनरी व्यवसाय बौद्धिक क्षेत्रका व्यक्तिले गर्ने भएकाले मुलुकमै सम्मानयोग्य व्यवसायका रुपमा हेर्ने गरिएको बताए । उनले यदाकदा विचौलियाका कारण व्यवसाय संकटमा पर्न थालेको व्यवसायीको गुनासो केन्द्रमा आउने गरेको समेत बताए ।विद्यालय तथा त्यसमा कार्यरत शिक्षक कर्मचारीले विद्यालयको कक्षा कोठामा पुस्तकको कारोबार गरेकाले व्यवसायी मारमा परेको उनले बताए ।

महासंघका पूर्व केन्द्रीय सदस्य श्याम ढकाल, फणिन्द्र न्यौपाने र झापाका पुराना व्यवसायी चन्द्रमोहन उपे्रतीलगायतले पव्लिकेसन, आधिकारिक बिक्रेता र खुद्रा बिक्रेताबीचको तालमेल नमिल्दा व्यवसाय संकटमा परेको बताएका थिए । उनीहरुले मुलुकको आर्थिक संकटले पनि यो व्यवसायलाई चौपट बनाउन लागेको बताए ।

महासंघका झापा अध्यक्ष संजय शर्मा सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष चन्द्र घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन दिपक खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्