झापा, पुष २५ । प्रदेश १ को मुख्यमन्त्री पाएको झापाले अरु तीनजना मन्त्री पाउने भएको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका तर्फबाट झापा गौरादहका हिक्मतकुमार कार्की हिजो नियुक्त भएका छन्। उनले आज शपथ लिँदैछन् । शपथपछि मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डलसमेत विस्तार गर्ने तयारी गरेका छन् ।
सोही मन्त्रिमण्डलमा झापाका भक्ति सिटौला , एकराज कार्की र निर्मला लिम्बू मन्त्री बन्ने भएका हुन् । राप्रपा संसदीय दलका नेता सिटौलालाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने कुरा भएपनि आफूहरुले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय दावी गरिरहेको राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए ।
त्यस्तै नेकपा एमालेका तर्फबाट दोस्रो कार्यकालका लागि झापा क्षेत्र नं २(१)बाट निर्वाचित एकराज कार्की पनि मन्त्री बन्ने भएका छन् । आफूले सामाजिक विकास मन्त्रालय दावी गरिरहेको उनले बताए । ‘आफू मन्त्री बन्ने संभावना प्रबल छ’ उनले भने,‘ मैले दावी गरेको सामाजिक मन्त्रालय हो ।’ त्यस्तै समानुपातिकमा एक जना प्रदेश सांसद प्राप्त गरेको जनता समाजवादी पार्टीकी निर्मला लिम्बू पनि मन्त्री बन्ने भएकी छन् ।
प्रदेश १ मा एमाले संसदीय दलका नेता कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति छ । १ नं प्रदेशसभामा झापा जिल्लाबाट मात्रै २० सांसद छानिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा झापाबाट सबैभन्दा बढी २० जना प्रदेश सांसद बनेका हुन् । यस्तै, प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलमध्ये झापाका तीन जना सांसद संसदीय दलको नेतामा चयन भएका छन् ।
झापाबाट निर्वाचित सबैभन्दा ठूलो दल एमालेका हिक्मत कार्की, प्रमुख प्रतिपक्षी बन्ने कांग्रेसका उद्धव थापा, राप्रपाका भक्तिप्रसाद सिटौला दलको नेतामा निर्वाचित भएका हुन् । समानुपातिकमा एक जना प्रदेश सांसद प्राप्त गरेको जनता समाजवादी पार्टीकी निर्मला लिम्बूको पनि बसाइ झापामै रहेको छ ।