भद्रपुर, पुष २६ । लेखनाथ पुस्तकालय चन्द्रगढीले कवि शिरोमणी लेखनाथ पौड्यालको १ सय ३९ औं जन्मजयन्तीको अवसर पारेर विभिन्न साहित्यकारहरुलाई सम्मान गरेको छ ।

पुस्तकालयको सभाहल चन्द्रगढीमा साहित्यकार डा. रमेश घिमिरेको प्रमुख आतिथ्यतामा मंगलवार सम्पन्न कार्यक्रममा स्रष्टा सम्मानलगायतका विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो ।
सँधैझै यस बर्ष श्रीप्रसाद ओली स्मृति सम्मानबाट अर्जुनधारा निवासी साहित्यकार पुण्यप्रसाद खरेललाई नगद ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।त्यसैगरी श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामको सूर्योदय नगरपालिका निवासी साहित्यकार नुरज भट्टराईलाई नगद १५हजार १ सय ५, भक्तकिरण साहित्य सम्मानबाट बिर्तामोड निवासी तुलसीप्रसाद भट्टराई , चुडामणी रेग्मी झर्रो शैली सम्मानबाट भद्रपुर निवासी शारदा कोईराला र मुनाकिरण कोईराला तथा घनेन्द्र शर्मा र धरणी शर्मा दम्पतिलाई नगद जनही ५–५ हजारका दरले २५ हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरी कवि शिरोमणी लेखनाथ पुरस्कारबाट बुद्धशान्ति निवासी मोक्ष खतिवडा र तेज राधा कुभिण्डेली कुसुम प्रतिभा पुरस्कारबाट विराटनगर निवासी सरला चापागाईलाई ११ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यसैगरी यस बर्ष झापा जिल्लास्तरीय छन्दोबद्ध कवि सम्मानबाट बिर्तामोड निवासी मीना अधिकारी र श्यामकृष्ण कामाक्ष श्रेष्ठ छात्रा प्रोत्साहन पुरस्कारबाट सिमरम दाहाल र सुरभी गुरागाईलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी शकुन्तला गणेशप्रसाद भट्टराई छात्रा प्रोत्साहन पुरस्कारबाट भद्रपुर निवासी आइसा श्रेष्ठ र स्वीकृति पौडेललाई पुरस्कृत गरिएको छ ।

पुस्तकालयका कार्यबाहक अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन खगेन्द्रा खुशी र स्वागत हरिकिशोर आचार्यले गरेका थिए ।कार्यक्रममा बरिष्ठ साहित्यकार चुडामणी रेग्मीलगायत झापाका साहित्य स्रष्टाहरुको सहभागिता रहेका थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्