बिर्तामोड, पुष २६ । बिर्तामोडस्थित मनकामना कलेज तथा माध्यमिक विद्यालयमा आयोजित अन्तरसंकाय भलिबल प्रतियोगिता मंगलवार सम्पन्न भएको छ ।

पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलवार सम्पन्न भएको हो ।
कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका छात्रहरुको ८ वटा टिम र छात्राहरुको ४ वटा टिमबीच अलग अलग प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा छात्रतर्फ कक्षा १२ कम्प्युटर साइन्स टिमले उपाधि जितेको छ भने छात्रातर्फ बिबिएस तेस्रो वर्षको टिमले उपाधि चुमेको छ । विजयी दुवै टिमलाई नगद ६–६ हजार रुपैयाँ पुरस्कार, रनिङ शिल्ड, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।

यस्तै उपविजयी हुने छात्रतर्फ कक्षा १२ बिजनेश म्याथ समूह र छात्रातर्फ बिबिएस प्रथमसहित कक्षा ११ र १२ को संयुक्त टिम रहेको थियो । उपविजयी दुवै टिमलाई नगद ३–३ हजार रुपैयाँ पुरस्कारसहित रनिङ शिल्ड, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।
प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट खेलाडी घोषित भई पूजा थाम्सुहाङ र छात्रतर्फ विवेककुमार शाक्यले जनही नगद एक हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको फाइनलमा पुग्ने चारवटै टिमलाई क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, शैक्षणिक संयोजक कुमार थपलिया, सहायक क्याम्पस प्रमुख युवराज दाहाल र राजेन्द्र प्रसाईले पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरेका थिए । सो क्याम्पसले हरेक वर्ष पुषको अन्तिम साता अन्तरसंकाय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्