बिर्तामोड , पुष २८ । कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ ।

शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो । एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले आवश्यक डकुमेन्ट नेपालबाट पठाइसकेको जानकारी दिँदै घटना भएको मुलुकले प्रमाणीकरण गरेसँगै शव ल्याइने बताए । त्यसका लागि कम्बोडियाको आन्तरिक मन्त्रालयमा फाइल पेस भइसकेको छ । तर , अधिकारीहरुले डकुमेन्ट प्रमाणीकरणमा ढिलाइ गर्दा शव नेपाल पठाउन नसकिएको उनको भनाइ छ । आन्तरिक मन्त्रालयका अधिकारीले बिहीबारका लागि पुनः फाइल प्रमाणीकरणका लागि बोलाएको बताइको छ । आज फाइल प्रमाणीकरण भएमा तीन-चार दिनभित्र शव नेपाल पुग्नसक्ने उनको भनाइ छ । पाण्डेको थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा मृत्यु भएको थियो । आगलागीबाट ज्यान जोगाउन १२ औं तलामाथिबाट हामफाल्दा उनको मृत्यु भएको हो । डकुमेन्ट प्रमाणीकरण भएपछि घटनास्थलस्थित अस्पतालबाट कम्बोडियाको राजधानी फेनाम पेन हुँदै नेपाल ल्याइने बताइएको छ । घटनास्थलबाट राजधानी शव पठाउनै करिब १० घण्टा लाग्ने बताइएको छ । निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चासो दिँदै छिटो शव नेपाल ल्याउन अधिकारीहरुलाई निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निणर्य गरिसकेको छ । शव नेपाल ल्याउन कम्बोडिया समेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्