झापा, पुष २९ । आठ टिमको सहभागितामा इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबार सुरु हुने प्रतियोगिता माघ ७ सम्म चल्नेछ । इटहरी-९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी छन् । उद्घाटन खेलमा शुक्रबार प्रदेश १ र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारै दोस्रो खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश भिंड्ने प्रतियोगिता संयोजक विप्लव घोषले बताए । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लब, सुदूरपश्चिम, वाग्मती र गण्डकी प्रदेश छन् । प्रदेश १, कणर्ाली, लुम्बिनी र मधेस प्रदेश समुह ‘बी’ मा छन् । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर र बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिने छ । प्लेयर अफ द म्याचले नगद ३ हजार पाउने छन् । प्रतियोगितामा १ करोड १३ लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्