झापा, माघ १ । सुरुङ्गा जेसीजको आयोजनामा कन्काई भलिवल कपको तेस्रो संस्करण माघ ३ गतेदेखि हुने भएको छ ।

सन् २०१९ देखि सुरुङ्गा जेसीजले लगातार गर्दै आएको प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष माघ ३ देखि ७ गतेसम्म संचालन गरिने भएको हो । सुरुङ्गा जेसीजले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको छ ।

कन्काई माविको खेलमैदानमा हुने प्रतियोगितामा तीन जिल्लाका ८ टीमले भाग लिने भएका छन् । झापा जिल्लाको झापा गाउँपालिका ,बुद्धशान्ति गाउँपालिका , भद्रपुर नगरपालिका , गौरादह नगरपालिका , शिवसताक्षी नगरपालिका , दमक नगरपालिका , इलामको चुलाचुली गाउँपालिका र मोरङको बेलवारी नगरपालिकाले भाग लिने सुरुङ्गा जेसीजका महासचिव राजु पाठकले बताए । नकआउट आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टीमले १ लाख १ हजार १११ , द्वितीय हुने टीमले ६१ हजार १११ र तृतीय हुने टीमले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५१ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको उनले जानकारी दिए । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टीभी पुरस्कार प्रदान गरिने महासचिव पाठकले बताए ।

प्रथम पुरस्कार विकास– अनु प्रसाई, द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्सले प्रायोजन गर्ने भएका छन् । त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मुख्य प्रायोजक रहेको प्रतियोगिताका लागि ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेजले पनि प्रायोजन गरेको महासचिव पाठकले बताए । कन्काई नगरपालिकाबाट विशेष सहयोग प्राप्त भएको प्रतियोगिताका लागि झापा गाउँपालिका , हल्दिवारी गाउँपालिका,शिवसताक्षी नगरपालिका , बिर्तामोड नगरपालिका , अर्जुनधारा नगरपालिका , भद्रपुर नगरपालिकाले पनि सहयोग गरेको उनले बताए । प्रतियोगिता सम्पन्न गराउन १२ लाख ३६ हजार रुपैयाँ खर्च हुने पाठकको भनाई छ ।

युवाहरुमा लागूऔषध दुव्र्यसन , बेरोजगारीजस्ता समस्या बढिरहेका बेला खेलको माध्यमबाट व्यक्तित्व विकास गर्ने उद्धेश्यले नियमित रुपमा सो प्रतियोगिता आयोजना गर्दै आएको सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा उप्रेतीले बताइन् । उनले सुरुङ्गा जेसीजको पहिचान र महत्वलाई आत्मसात् गर्न पनि प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । विगतका वर्षको तुलनामा पुरस्कार राशि बृद्धि गर्दै लगिएको बताउँदै उनले आगामी दिनमा प्रतियोगितालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाइन् ।

एउटा पालिकाले ४ जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी खेलाउन पाउने प्रतियोगितामा प्रावधान राखिएको छ । सोही अनुरुप दमकले बंगलादेश , चुलाचुलीले पाकिस्तान तथा बुद्धशान्ति र गौरादहले दक्षिण भारतका खेलाडीलाई आ–आफ्नो टीममा सहभागी गराउने भएका छन् । घरेलु कन्काई नगरपालिकाले बाहिरको खेलाडी नपाएपछि यस वर्ष प्रतियोगितामा भाग नलिने भएको कन्काई खेल विकास समितिका अध्यक्ष जवीन तिम्सिनाले बताए । उनले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ल्याउन नसक्दा कन्काईले लज्जास्पद हार ब्यहोरेको स्मरण गरे ।

कार्यक्रममा सहभागी सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले सुरुङ्गा जेसीजले आयोजना गरेको प्रतियोगितामा स्थानीय क्लबको सहभागिता अनिवार्य गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व अध्यक्षहरु शिव कँडेल, कमल कट्टेल , खेलकुद संयोजक प्रतापबाबु जमरकट्टेल , प्रकरण निर्देशक राज कट्टेलको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन खेल माघ ३ गते भद्रपुर र डिफेन्डिङ च्याम्पियन दमक नगरपालिकाबीच हुने भएको छ । गत वर्ष दमकले उपाधि जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्