सुरुङ्गा, माघ १ । विगतको तुलनामा यस वर्ष कन्काई माई मेला खासै लागेन ।

मेला भर्नेहरुको संख्या घटेको पाइयो । कोरोना संक्रमणका कारण दुई वर्ष कन्काई माई मेला लागेको थिएन । यस वर्ष भव्य रुपमा मेला लाग्ने अपेक्षा गरिएको थियो । तर, मानिसहरु मेलाको भीडभाडमा जान अनिच्छुक देखिए । विगतका वर्षहरुमा लाखको हाराहारीमा मेला भर्नेहरुको संख्या हुने गरेको थियो । यस वर्ष ४० हजारको हाराहारीमा मेला भर्नेहरुको संख्या रहेको अनुमान गरिएको छ ।

विगतको तुलनामा यस वर्ष मेलामा मानिसको भीड कम देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । उनले मध्यान्हपख एकै समयमा २० हजारको हाराहारीमा मानिसको उपस्थिति देखिएको र दिनभरि जम्माजम्मी ४० हजारको हाराहारीमा मेला भर्नेको संख्या हुनसक्ने बताए । मेलाका क्रममा कुनै अप्रिय घटना नभएको उनले बताए । कन्काई पुलमा यस वर्ष मानिसको भीड देखिएन । डीएसपी पाठकका अनुसार पक्की पुलबाट मानिसहरुलाई हिड्न रोक लगाइएको थियो । उनीहरुका लागि नदी वारपार गर्न बाँसको पुल बनाइएको थियो । सुरक्षा र ट्राफिक व्यवस्था व्यवस्थित पार्न आबश्यक सुरक्षाकर्मी खटाइएको उनले बताए ।

यस वर्ष पुष २९ गतेदेखि माई मेला लागेको थियो । प्रत्येक वर्ष माघे संक्रान्तिका दिन शिवसताक्षी र कनकाई नगरपालिकाको बीच भएर बग्ने माई नदीको दुवैपट्टी माई मेला लाग्ने गरेको छ । माई मेलामा आएर मकर नुहाई पूजा आराधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । कनकाई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ । नेपाललगायत छिमेकी मुलुक भारतबाट समेत मकर स्नानका लागि त्यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्