मेचीनगर, माघ १ । बाहुण्डाँगीमा तरुल उत्सव संचालन भएको छ ।

मेचीनगर नगरपालिकाको ४ नम्बर वडा कार्यालयले आयोजना गरेको तरुल उत्सव नेपालमा नै पहिलो पटक संचालन भएको आयोजकले जनाएको छ । हेपिएको पौष्टिक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंग फुडको अन्त्य गर्दै अर्गानिक खानेकुराको प्रयोग बढाउने उद्धेश्यका साथ उत्सव संचालन गरिएको आयोजक समितिका अध्यक्ष मेचीनगर नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

तरुल हात्तीले नखाने बाली भएको र झापाको बाहुण्डाँगी क्षेत्र हात्ती प्रभावित क्षेत्र भएकाले पनि तरुलको व्यवसायिक खेतीको सम्भावना बलियो बनाउनसमेत उत्सवले सहयोग पुग्ने कार्कीको भनाइ छ ।
तरुल महोत्सवमा बिभिन्न जातका नेपाल र भारतमा उत्पादन भएका तरुलसंगै, धनकुटाको एभोकाडो, चौरीको छुर्पी, किवीलगायतका स्थानीय स्तरमा उत्पादन हुने खाद्य वस्तु तथा बिभिन्न सामग्रीको स्टल राखिएको छ ।

उत्सव संचालनका लागि मेचीनगर नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टा र कृषि ज्ञान केन्द्र भद्रपुरले सहयोग गरेका छन् । ‘स्वास्थ्य जीवनको आधार मौलिक तथा जैविक आहारविहार’ भन्ने नाराका साथ बाहुण्डाँगी बजारमा संचालन भएको तरुल उत्सवको प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्