झापा, माघ १ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले मकर संक्रान्तिको अवसर पारेर सतासीधाममा एकदिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

सतासीधामका ज्येष्ठ नागरिक तथा मकर नुहाउने भक्तजनहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एकदिने स्वास्थ्य परीक्षण शिविरसंगै निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ । बिर्तामोडस्थित लाइफ कोयस्टको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५६ जनाले प्रेसर, ४६ जनाले सुगर निःशुल्क परीक्षण गराएका थिए । त्यस्तै २९ जना बिरामीहरुलाई विभिन्न रोगको औषधि निःशुल्क वितरण गरिएको थियो ।
पबित्र तीर्थस्थल सतासीधाममा शिविर संचालन गरेकोमा सताक्षीधाम समितिले नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखालाई धन्यवाद दिँदै सम्मान गरेको छ । धामका सचिव कालिप्रसाद रिजालले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष उदय प्रकाश राईले सम्मान गरेका थिए । अध्यक्ष तुलाराम बोखिमले धामलाई कार्यक्रम स्थल बनाएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन उपशाखाका सचिव होमप्रसाद राजवंशीले गरेका थिए भने सहजीकरण सभापति गोबिन्द काफ्लेले गरेका थिए ।