कनकाई,माघ ३ ।झापाको सुरुङ्गामा प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिका विजयी बनेको छ।

सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणको रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेल दमक र भद्रपुर नगरपालिकाबीच भएको थियो । खेलमा दमकले २५–१५, २७–२५ र २८–२६ को सोझो सेटमै भद्रपुरलाई हराउँदै जीत हासिल गरेको हो । दमकका रोमन बस्नेत खेलको म्यान अफ द म्याच घोषित भए ।दमक गत वर्षको उपाधि विजेता हो ।

नकआउटका आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टि.भी पुरस्कारस्वरुप वितरण गरिने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।

माघ ३ गते सुरु भई ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको छ । प्रतियोगितामा झापासहित मोरङ र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका छन् । सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईँ, नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाईँ, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँलगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए । बुधबार बेलबारी र झापा गाउँपालिकाबीच खेल हुने आयोजक समितिका खेल संयोजक प्रतापबाबु जमरकट्टेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्