झापा, माघ ४ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ ।


महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रकृया सुरु हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोली बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि भोली प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई अघि सार्ने तयारी गरेको छ । नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्