कनकाई , माघ ५ ।झापाको कनकाई नगरपालिका यतिबेला सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ ।

नगरपालिकाबाट प्रवाह हुने हरेक प्रकारका सेवा–सुविधा नागरिकसम्म सहज एवम् थप प्रभावकारी रुपमा पु¥याउने अभियानमा नगरपालिका जुटेको हो । जसका लागि नगरपालिका सबै तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धि हुने खालका तालिम र प्रशिक्षण प्रदान गरिएको छ ।

‘नगरपालिकामा आउने सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रदान गरिरहेका छौं, कोही पनि, कुनै पनि काम भएन भनेर पर्खिनु र फर्किनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ’नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले भने । सोही क्रममा पुष २५ गते नगरका ५० जना जनप्रतिनिधिलाई एकदिने प्रशिक्षण दिइएको थियो । जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार, समय व्यवस्थापन, आचरण, व्यवहार, योजना तर्जुमा, भूमिकालगायतका विषयमा प्रशिक्षण दिइएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए ।

त्यस्तै, पुष २६ र २७ गते कार्यालय सहयोगी, चालक, सरसफाईलगायतका ४७ जना कर्मचारीलाई तालिम दिइएको थियो । उनीहरुलाई आचरण, व्यवहार, अनुशासन, उत्प्रेरणालगायतका विषयमा तालिम दिइएको अधिकृत भण्डारीले बताए ।

यस्तै, माघ ३ र ४ गते नगरका शाखा प्रमुख, वडा सचिवलगायत ६७ जनालाई तालिम दिइएको छ । उनीहरुलाई काम, कर्तव्य, अधिकार, कार्यालयगत संरचनालगायतका विषयमा तालिम दिइएको हो । सबै तालिम तथा प्रशिक्षण स्थानीय शासनविज्ञ तारानाथ निरौलाले प्रदान गरेको कर्मचारी विजय पाठकले जानकारी दिए ।


कामको प्रकृतिका आधारमा सेवा प्रवाहको मापदण्ड बनाएर लागू गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । ‘मुख्य उद्देश्य सामूहिक संस्थागत क्षमता विकास नै हो’, उनले भने, ‘टिमवर्क बृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्नु हाम्रो उद्धेश्य हो ।’

कनकाईमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेसँगै न्यौपानेले नगरको काम–कारबाही, विकास निर्माण, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने प्रयास गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्