झापा,माघ ६ । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुष १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोड १का निराकार पाण्डेको शव शुक्रबार २१ दिनपछि आज राति नेपाल आइपुग्ने भएको छ ।


क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव आज राति १०.३० बजे थाइल्याण्ड हुँदै नेपाल ल्याइने भएको हो ।

निराकारका बुवा बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव आज राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति १२ बजे काठमाडौंबाट शव झापा ल्याइने पाण्डेले बताए । बिर्तामोड १ अतिथि सदनस्थित घरमा शव ल्याइसकेपछि भोलि शनिवार बिहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने उनले जानकारी दिए ।
निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णयसमेत भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो । शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्