दमक, माघ ७ ।दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक व्यवसायीहरुको प्यानलले जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेको राप्रपा र जसपासहित माओवादी केन्द्रको विद्रोही समूहका व्यवसायीहरुको लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेदवारहरु विजयी भएका हुन् ।
शनिबार बिहान ४ बजे सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार संघको अध्यक्षमा देवीप्रसाद गुरागाँई (गोपाल)ले ९८५ मत ल्याएर बाजी मारेका छन । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमाले र माओवादी केन्द्रसम्बद्ध प्रगतिशील व्यवसायीहरुको संयुक्त प्यानलका विमल खतिवडाले ६५१ मत ल्याएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा राजु खड्का (८८२ मत) ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याएका छन् । त्यसैगरी,प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्या ८२९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाए ।
यस्तै, द्वितीय उपाध्यक्षमा लोकतान्त्रिकका विजयी ज्ञाननाथ पौडेल (ज्ञानु ) १००७ मतका साथ विजयी भए । सो पदमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला(लक्की )ले ६०३ मत पाईन् भने तृतीय उपाध्यक्षमा रुबल अधिकारी ९६९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रगतिशीलका असिम राईले ६३१ मत पाए ।

महिला सदस्यमा तुम्बापो र अधिकारी
दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बराबरी जितेका छन् । जसअनुसार प्रगतिशील समूहकी कविता अधिकारी १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो ( १०६८ ) मतका साथ विजयी भए ।
खुल्ला ६ जना सदस्यमा एक जना प्रगतिशीलका उम्मेदवार उमेश गजमेर , विजयी भए । खुल्ला सदस्यमा लोकतान्त्रिकका तर्फबाट टिकाराम खतिवडा (९३९), तुलसीराम तिम्सिना (९६९ ), कमल कटुवाल ( ८३९), सुवासचन्द्र गड्तौला (८४२ ) र हेमसागर अधिकारी (९०४ ) मत ल्याउँदै विजयी भए ।

लेखा संयोजकमा चम्लागाई
लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्रप्रसाद चम्लागाई ९६५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाए । तीन सदस्यीय लेखा समितिमा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

वस्तुगत र लेखा सदस्य निर्विरोध
२२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय वस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।
महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,वस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपकप्रसाद गौतम निर्वाचित भएको जनाइएको छ । तीमध्ये गौतम मात्र प्रगतिशील समूहका हुन् । यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र प्रगतिशील समूहबाट षडानन्द घिमिरे निर्विरोध भएका थिए ।
शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदातामध्ये १६ सय ८९ मत खसेको थियो ।
नयाँ नेतृत्वका लागि व्यवसायीहरु दुई वटा दलीय प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । संघको निर्वाचनमा नेतृत्व हत्याउन एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित होमबहादुर थापा, केन्द्रीय सदस्य एवं युवा नेता गोविन्द थापा,पूर्व मेयर तथा केन्द्रीय सदस्य रोमनाथ ओली, पूर्व उपमेयर तथा केन्द्रीय सदस्य गीता अधिकारीलगायत व्यवसायीहरुको समूह बनाएर ठाउँठाउँमा प्रगतिशील समूहको लागि भोट माग्न खटिएका थिए भने कतिपय वडाध्यक्षहरु समेत मतदानस्थलमा खटिएका देखिन्थे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्