झापा, माघ ८ ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको नेतृत्वमा विभिन्न वस्तुगत संघका अध्यक्षहरू सहितको टोलीले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित देवराज घिमिरेलाई बधाई तथा शुभकामना दिएको छ ।
हालै सभामुख पदमा निर्वाचित घिमिरेलाई आइतबार कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना दिएको हो ।
साथै महासंघका उपाध्यक्ष श्रेष्ठले वर्तमान आर्थिक तरलताको अभाब , बैंकको ब्याज, विभिन्न ऐन संशोधनका बिषयमा सभामुखको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै महासंघका केन्द्रीय सदस्य मनिषलाल प्रधानले निर्यातलगायत विभिन्न वस्तुगत क्षेत्रमा उद्यमी ब्यवसायीले भोग्नु परेको कठिनाईको बिषयमा अवगत गराएका थिए ।
त्यस्तै नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले अलैंची र अम्लिसोमा बंगलादेशमा निर्यात गर्दा लाग्ने अधिक करको बारेमा सभामुखलाई अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
बधाई तथा शुभकामना कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरी, सौर्य उत्पादक संघका निवर्तमान अध्यक्ष इन्द्र खनाल, फ्रेड एण्ड फरवार्डसका अध्यक्ष मनोज अधिकारी, नेपाल महिला उद्यमी महासंघका बरिष्ठ उपाध्यक्ष शोमा ज्ञवालीलगायतले आ–आफ्नो संघको तर्फबाट शुभकामनासहित आफ्ना क्षेत्रका समस्या राखेका थिए ।
साथै सभामुख घिमिरेले नेपालका ठूला ब्यावसायिक संस्थाले उठाएका सवालहरूलाई सम्बन्धित निकायहरूसंग समन्वय गर्ने र आफूले उद्योगी व्यवसायीसंग बसेर छलफल गर्ने आश्वासन दिएको नेपाल कुचो संघका अध्यक्ष कार्कीले जानकारी दिए ।