झापा , माघ १३ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ ।

अब यो मुद्दामा निणर्य आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गर्न बाँकी छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कणर्ले जवाफी बहस गरेका थिए । लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता नरेन्द्र गौतम लगायतले निवेदकको हकदैया नै नभएको दाबी गरेका थिए । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्