सुरुङ्गा, माघ १९ । कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ ।

आगामी २०८१ भाद्र २९ गते नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९÷०८० भित्रै बालमैत्री घोषणा गर्न लागेको हो । चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई बालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।
बालमैत्री घोषणा गर्ने तयारीसँगै बाल स्रोतब्यक्तिको नियुक्ति गरिएको छ । रुद्रमणि पोख्रेल र प्रजेश खनाललाई स्रोतव्यक्ति नियुक्त गरी नगरका सबै वडामा बाल क्लब गठन, बालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रमहरु निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष र स्तनपान कक्षको स्थापना गरिएको जनाइएको छ ।
त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन गरिरहेको छ भने उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको छ ।त्यस्तै नगरका प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ । आर्थिक वर्ष २०८१÷८२ मा बालमैत्री नगर घोषणाका लागि नगरका सबै वडा तथा टोलमा सचेतना र अन्तरक्रिया कार्यक्रम गरिने नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।



