झापा , माघ २४ । चिया निर्यात गरेर नेपालले बर्सेनी तीन करोड ८० लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा अहिले २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुने बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । प्रदेश १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने उनले बताए । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । बोर्डको तथ्याङ्कमा मुलुकमा १६० भन्दा बढी चिया बगान छन् । १५ हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएको र ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ । देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध छन् । अधिकारीका अनुसार पहाडी भू-भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको छ । अधिकारीले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्