झापा, माघ २४ । मोरङको सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा कोशी अस्पताललाई प्रयोग गर्न दिइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारअन्तर्गत रहेको कोशी अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालयका लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निणर्य गरेको हो । मन्त्रिपरिषद् बैठकको यो निणर्यसँगै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्ने बाटो खुलेको हो । मेडिकल कलेज सञ्चालनका लागि चिकित्सा शिक्षा ऐनमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको ३ सय शय्याको अस्पताल हुनुपर्ने मापदण्ड छ । पूर्वाञ्चल विश्व विद्यालयसँग पर्याप्त पूर्वाधार भएपनि आफ्नै हस्पिटल थिएन । मन्त्रिपरिषद्को बैठकबाट कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएपछि विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनका लागि सहज भएको उपकुलपति प्रा. डा. यादवराज कोइरालाले बताए । अब त्रिपक्षीय सम्झौतापछि मेडिकल कलेज संचालनको काम अगाडि बढ्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्व विद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर शिक्षक दरबन्दी खुलाउने उपकुलपति प्रा. डा. कोइरालाले बताए । ‘एमबीबीएको लागि भवन तयार छ । शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट एमबीबीएसको पठनपाठन गर्ने गरी अगाडि बढ्छौँ,’ उनले भने ।
एमबीबीएसको पाठ्यक्रम र भौतिक पूर्वाधार बनिसकेको र पुस्तकालयसमेत अपडेट गरिसकेको उनले बताए ।
यसअघि २०७८ माघ ५ गते पूर्वाञ्चल विश्वविद्यालय र कोशी अस्पतालबीच शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने सम्झौता भएको थियो । उक्त सम्झौतालाई मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेपछि मेडिकल कलेज संचालनको लागि बाटो खुलेको हो ।