झापा , माघ २६ । सदरमुकाम फुङलिङ नजिकै तोक्मे सामुदायिक वनमा मंगलबार र बुधबार आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले चार घण्टासम्म प्रयास गरेका थिए । बस्तीतर्फ आगो बढ्न नदिन अग्नि रेखा बनाउनेदेखि आगो नियन्त्रणका लागि दमकलको सहारा लिइएको थियो । दोखु क्षेत्रमा बुधबार दिउँसो फेरि डढेलो सल्कियो । फुङलिङ-७ का वडाध्यक्ष योगेन्द्र निरौलाले उक्त क्षेत्रमा चार होटल र एक घर भएको बताए । सल्लाको जंगल क्षेत्र भएकाले आगो नियन्त्रणमा लिन निकै कठिन भएको फुङलिङ नगरका उपप्रमुख भिमादेवी ओझाले बताइन । आगो लगाउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ सल्लाको पात भुइँमा खात भएर बसेकाले भित्रसम्म पसेको आगो हतपत ननिभ्ने सामुदायिक वनका सदस्य कृष्ण ओझा बताउँछन् ।


लामो समय पानी नपरेका कारण जिल्लाका धेरै ठाउँमा डढेलो देखिन थालेको उनले बताए ।उता मंसिरदेखि हिमपात नभएर चिन्तित ओलाङचुङगोलावासीले भने मंगलबार यो हिउँदको पहिलो हिमपात अनुभव गर्न पाएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल ओलाङचुङगोलाका निरीक्षक अनिल खड्काले हिमपात सामान्य रूपमा परे पनि सुरुवात भएको बताए । ‘बेलुका केही बाक्लो पर्ने आशा पनि हावा चल्न थालेपछि हरायो,’ उनले भने । यो वर्ष यत्तिका समय हिउँ नपर्दा स्थानीय पनि अनौठो मानिरहेको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाले बताए ।

‘हिउँ नपर्दा गोठमा बस्नेहरूलाई त ढुक्क छ,’ उनले भने, ‘तर चिस्यान नभएकाले अब एक/दुई दिनदेखि घाँसको समस्या हुन थाल्छ ।’ पुस, माघमा नपरे चैत, वैशाखमा हिउँ पर्ने र त्यो खतरनाक हुने बूढापाकाले बताउने गरेको छेतेन सुनाउँछन् । ‘अहिले परेको हिउँ जमेर बस्छ र बिस्तारै बिलाउँछ,’ उनले भने, ‘चैत-वैशाखको हिउँ जम्मा हुने र पहिरो भएर झर्ने हुन्छ, त्यसले हिँडडुलमा जोखिम निम्त्याउँछन्  ।’चौंरीलगायत चौपायाको हेरचाह गर्न त्योबेला कठिन हुने उनले बताए । त्यो बेलाको हिउँपहिरोले चौपायालाई ठूलै क्षति पुर्‍याएको विगतका घटना स्मरण गर्दै उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्