बिर्तामोड , फागुन ७ । बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री वितरण गरेको छ ।

आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री वितरण गरेको हो ।कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रमअन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले मिनि ट्रेलर ९ थान, ड्रिल मेशिन ३ थान, ड्यांग बनाउने मेशिन १ थान, उकेरा लगाउने मेशिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका तरकारीको बीउविजन वितरण गरेको हो । जम्मा २१ लाख १० हजार ९ सय रुपैयाँको सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले अनुदानमा दिएका सामग्रीहरुको सही सदुपयोग गर्न आग्रह गरिन् । बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्दै गएको र कृषि क्षेत्र साँघुरिदै गएको भन्दै उनले खाली रहेका जग्गा जमिनहरु बाँझो नराख्न आग्रहसमेत गरिन् । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले अर्गानिक तरकारी उत्पादनमा जोड दिए । भारतबाट आएको विषादी हालिएका तरकारीले क्यान्सरलगायतका प्राणघातक रोग लाग्ने भएकाले यहीं विषादीरहित तरकारी व्यवसायिकरुपमा उत्पादन गर्न कृषकहरुलाई आग्रह गरे ।आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तरकारी उत्पादन तथा व्यवस्थापन समितिका अध्यक्ष माधव सिटौलालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्