बिर्तामोड, फागुन ९ । झापा बिर्तामोडका एक जना युवकले मंगलवार अपरान्ह मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् ।
शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवकले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले अपरान्ह साढे ४ बजे चौधरीले मुक्ति चोकमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए । बिर्तामोड ७ निवासी ३४ वर्षिय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी दुर्गा प्रसाईको सहयोगीको रुपमा रहेका थिए । चौधरी बिएण्डसी अस्पतालका सञ्चालक प्रसाईका ठूलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ । घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको डीएसपी रिजालले बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका थिए । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्र्रतिशत जलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ । चौधरीको अबस्था सामान्य रहेको छ । घटनास्थलमा आत्मदाह गर्न उनले प्रयोग गरेको पेट्रोलको बोत्तल र आगो सल्काउने लठ्ठी फेला परेको छ । चिकित्सकलाई उद्धृत गर्दै डीएसपी कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । आत्मदाहको प्रयास गर्ने चौधरीले पारिवारिक समस्या देखाएका छन् । प्रहरीसँग कुराकानीका क्रममा चौधरीले परिवारमा समस्या देखाएका हुन् ।
चौधरीलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए । नजिकका प्रहरी आइनपुग्दै आगो निभेको थियो । उनले पातलो कुर्था लगाएका थिए ।बीएण्डसीमा काम गरेका चौधरी सामान्य परिवारका हुन् । उनको परिवारका तीनजना सदस्य चालक हुन् । गत वर्ष निधन भएका उनका बुवा हरिराम चौधरी जिल्ला शिक्षा कार्यालयको गाडी चलाउँथे । त्यस्तै विजयका जेठा दाजु जय पनि निर्वाचन कार्यालयको गाडी चलाउँथे । गत वर्ष दुर्घटनामा परेपछि एक वर्षदेखि जय थला परेर घरमा छन् । विजयका दुईजना श्रीमती रहेको छिमेकीले बताएका छन् । जेठी श्रीमती र छोरी बीएण्डसीमा काम गर्छन् भने कान्छी श्रीमती र उनका दुई छोराछोरी घरमा बस्छन् ।
यसअघि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा गत माघ ११ गते मृत्यु भएको थियो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलामका प्रेमप्रसाद आचार्यले माघ १० गते दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो।