झापा , फागुन १९ । नेपाली चियाको निर्यात करिब ३० प्रतिशतले बढेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिना (साउन-माघ) मा चिया निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ९ प्रतिशतले बढेको हो । गत आ.व.को ७ महिनामा नेपालबाट २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको ७ हजार ८४६ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आ.व.को सोही अवधिमा निकासी रकम २९ दशमलव ९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निकासी परिमाण १२ हजार ५६४ मेट्रिक टन पुगेको छ । केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा कृषिजन्य वस्तुको निर्यातमा अलैँचीपछि चिया छ । नेपाली चिया भारत, अमेरिका, जर्मनी, बेलायतसहित विश्वका १ सय ६६ देशमा निर्यात हुन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आ.व. २०७७/७८ मा नेपालबाट ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । बोर्डका सूचना अधिकारी दीपक खनालले गत वर्ष मौज्दात रहेको चिया यो वर्ष एकैचोटि निर्यात भएकाले निकासी परिमाण ह्वात्तै बढेको देखिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्